सुनमाया आमा अहिले ६३ वर्षको हुनु भयो। उमेर जति धेरै फ़ुर्तिलो र सक्रिय पनि त्यतिकै हुनुहुन्छ। ८ जना छोरी र २ छोराकि आमा एकल महिला हुन।
राक्सिराङ्गको माइसीराङबाट जिर्खेडाँडा बिहे गरेर आउँदा साढे १७ वर्षको हुनुहुन्थ्यो र साढे १८ बर्षमा नै बच्चा जन्माउनु भाको रे!
आमाको अनुसार उहाँको माइतीघर तिर २ जनालाई मात्र अम्रीसोको कुचो बनाउन आउने,आमाले उनीहरू सँग सिक्न खोज्दा नसिकाए पनि उनीहरूले बनाएको देखेर नै कुचो बनाउने तरिका सिक्नु भएछ,अझ भनौ अझै राम्रो बनाउन आफै सिक्नु भएछ।
उहिले गाउँमा अहिले जस्तो व्यावसायिक रूपमा अम्रिसो खेती हुँदैनथ्यो । जङ्गलमा गएर अम्रिसो थुतेर ल्याइ कुचो बनाउन पर्थ्यो अनि घरमा नुन तेल आवश्यक पर्दा त्यही कुचो बेचेर गर्जो टारिन्थ्यो। त्यति बेला एउटा कुचो १० रुपैयाँमा बिक्न पनि धौ धौ हुन्थ्यो रे!
२०७६ सालमा विघ्नहर्ता नेपालले अम्रीसोको व्यवसायिक खेती गरे लगत्तै गाउँमा कुचो बुन्ने तालिम सञ्चालन गर्दा थाहा भयो आमा त आफ्नो गाउँमा कुचो बुन्न सिकाउने पहिलो महिला हुनुहुँदो रहेछ । जसले जिर्खेडाँडाका महिलाहरूलाई पनि कुचो बुन्न सिकाएर घरखर्च टार्न सहयोग गर्नु भयो रे !
आमा कुचो बुन्न मात्रै हैन,अन्य चेपाङ समुदायका परम्परागत हाते बुनाइका सिपहरूमा पनि खप्पिस हुनुहुन्छ। जाबी, राडी, पाखी, मान्द्रो, डोको, डालो, नाम्लो पनि मज्जाले बुन्न आउँछ।
बर्षौ देखि गरीबी र अभावमा आमाले यी सबै कामहरु गर्नु भयो,अब भने गरिबी ढाक्नको लागि सिकेको सिप उहाँको पहिचान बन्नु पर्छ। यस्ता परम्परागत सिपलाइ उध्यमसङ्ग जोड्नु पर्छ।
नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा आर्थिक क्रियाकलापमा सक्रिय महिलाको ८२% स्वरोजगार छन र १२% ज्यालादारी गर्छन भने ४% भन्दा बढी महिलाहरु बिना ज्याला घरायसी काम गरिरहेका छन।
विघ्नहर्ताले यसै वर्ष देखि आमालाइ खोरियाको कुचो बनाउन चेपाङ समुदायको ‘सर्टिफाइड ट्रेनर’( Certified Trainer) बनाइ गाउँ गाउँमा तालिमको लागि पठाइरहेको छ। आमा जस्तै सिप भएका तर अवसर र बजार नपाएका महिलालाई बजारसँग जोडी आर्थिक रूपमा सबल बनाउने अभियानमा जोडेको छ।
बिघ्नहर्ता नेपाल र आमाहरु जस्ता महिला मिलि गाउँका महिलाहरुलाई परम्परागत पेशामा सक्रिय बनाउने, दिनरात काममा खटिने महिलाहरुको जिवनस्तर सुधार गर्ने, उहाँहरुको नेतृत्व बिकास र समाजिकीकरण गरि स्वरोजगार बनाउन जोड्तोडले लागि परेको छ।
एक महिला आफू मात्र ससक्त नभइ आफू जस्तै अरु महिला ससक्त बनाउन सक्नु नै महिला ससक्तिकरणको राम्रो उदाहरण हो र सुनमाया आमा उदाहरण हुन।